८१ वर्षमा आफै गाडी हाँकेर विमानस्थल पुगे, एउटा प्रस्तावले दुर्घटनामा परे

0 Shares

काठमाडौं । बुधबार बिहान ११ बजेरतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानका प्राविधिक विज्ञता भएकाहरूको निधन भयो ।

घटनामा १८ जनाले ज्यान गुमाउँदा १५ जना जहाजको प्राविधिक ज्ञानसम्बन्धि विज्ञता हासिल गरेका, एक जना कोपाइलट र बाँकी दुई जना प्राविधिक विज्ञको परिवार थिए । घटनामा पाइलट मनिषरत्न शाक्य सकुशल छन् । उनको उपचार जारी छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये एक हुन्, ललितपुरको बखुण्डोलका ८१ वर्षीय श्याम बिन्दुकार । उनी बिहान साढे ९ बजेतिर आफै गाडी हाँकेर विमानस्थल पुगेका थिए । उनी विमान मर्मतको काममा करिब पाँच दशक काम गरेको अनुभव थियो । उनी करिब दुई वर्षअघि मात्रै अवकाश लिएर बसेका थिए ।

सौर्य एयरलाइन्स कम्पनीले श्यामको विज्ञता र अनुभव बुझेर जहाज मर्मत गर्न भन्दै पोखरा लैजान लागेको उनको परिवारले जनाएका छन् । उनी सौर्य एयरलाइन्स कम्पनीले पोखरा जान आग्रह गरेपछि टोलीसँगै पोखरा जान तयार भएका थिए ।

पोखरा जाने भएपछि श्यामलाई विमानस्थलसम्म छाड्न जेठा छोरा रमेश पुगेका थिए । विमानस्थलमै काम गर्ने कान्छा छोरा सुरेशले औषधि र फोन चार्जर छ कि छैन ? भनेर सोध्न भ्याए । छोराहरूसँग राम्रोसँग बिधाई भएका श्याम चढेको विमान केहीबेरमा नै दुर्घटना भयो ।

बुवालाई छाडेर घर पुग्नासाथ रमेशलाई भाइ सुरेशले फोन गरे । उनले भनेका थिए, ‘बुवा चढेको विमान दुर्घटनामा पर्‍यो ।’

८१ वर्षको पाको उमेरमा पनि श्यामले सौर्य एयरलाइन्सको आग्रह नकार्न सकेनन् । विमान बनाउने विज्ञता हासिल गरेका उनी ‘सी चेक’का लागि काम गर्न तयार भए । सौर्य एयरलाइन्सका अरू कर्मचारीसँगै पोखरा जाने भएका थिए ।

विमानमा चढेका अधिकांश यात्रु सौर्य एयरलाइन्सका प्राविधिक र कर्मचारी थिए । उनीहरूको मृत्यु भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आफन्तहरू शवको पर्खाइमा छन् ।

सम्बन्धित समाचार