0
Shares
एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका-८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । शनिवार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो ।
एम्बुलेन्समा गाँजाको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजा बरामद भएसंगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।