प्रधानमन्त्रीको नियतमा नै खोट रहेछ : महामन्त्री थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको नियतमा खोट रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको चयनमा प्रधानमन्त्रीले देखाएको हर्कतले नियतमा खोट देखाएको बताएका हुन् ।

‘हाम्रै दलभित्र हामीले भाग माग्न पाउँदैनौँ, प्रधानमन्त्रीलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ भनौँ, तर नियतमै खोट रैछ क्या,’ उनले थपे, ‘प्रधानमन्त्रीलाई बधाई, नेपालका यी शीर्ष नेताहरूले मौका पाउनासाथ लेक्चर दिइहाल्ने, तर गर्नेबेला ठ्याक्क उल्टो काम गर्ने त्यो काम प्रधानमन्त्रीले उपकुलपति नियुक्तिमा गर्नु भयो, उहाँलाई बधाई ।’

यस्तै, थापाले सत्ता गठबन्धन बेकार भएको बताए । उनले सत्ता गठबन्धनमा जनतालाई के उपलब्धि दिने ? भन्नेबारे छलफल नहुने बताए ।

महामन्त्री थापाले गठबन्धनमा हुनु पर्ने कुनै पनि संस्कृति नभएको सत्तामा भएका दल र नेताहरूसँग नभएको बताए । ‘गठबन्धनका लागि चाहिने कल्चर (संस्कृति) हामीसँग छैन्, जस्तो प्रधानमन्त्री जी, सभापति जी र तीन–चार जना नेताहरू बसेर कुराकानी गर्यो, सकियो, त्यही नै हो गठबन्धन ?,’ उनले भने, ‘खै त दलहरूको कहिले भेट हुन्छ ?’

यस्तै, उनले सत्ता गठबन्धनमा भएका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादीसहितको दलहरू बसेर एक वर्षका लागि सरकारको समीक्षा गर्नु पर्ने बताए । उनले दुई–चार जना नेताहरू बसेर गठबन्धन गरिरहेका आरोप लगाए ।

महामन्त्री थापाले आफू पनि सत्ता गठबन्धनको बैठकमा केही समय गएको भन्दै देशमा तत्काल आइपरेको समस्या र भागबण्डामा मात्रै छलफल हुने दाबी गरे ।

‘सरकारमा हुने पदीय व्यवस्थापन र विभिन्न नियुक्तिहरूको बाँडफाँडमा सत्ता गठबन्धनको छलफल हुन्छ, त्यो बाँडफाँड समिति हो,’ उनले थपे, ‘त्यो गठबन्धनको बैठक होइन, बाँडफाँड समितिको बैठक हो, जहाँ बाँडफाँडभन्दा केही पनि हुँदैन् ।’

सम्बन्धित समाचार