बालयौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका बम्जनलाई कति होला सजाय ?

0 Shares

काठमाडौँ । आफूलाई ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले सोमबार उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले उनलाई दोषी ठहर गरेको हो । अब सजाय निर्धारणका लागि असार १७ मा पेसी तोकिएको छ । अहिले बम्जन महोत्तरी कारागार जलेश्वरमा छन् । गत पुस २६ मा सर्लाही अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि बम्जनलाई कारागार चलानको आदेश दिएको थियो ।

बम्जनमाथि आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप रहेको छ । बम्जनले आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको पनि आरोप लगाइएको छ । २०७३ साउन २० गते, आश्रममा रहने एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

सर्लाही अदालतले २०७७ असार २१ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यद्धपी बम्जन लामो समयसम्म फरार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई गत पुस २४ मा बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार