विपद्को पूर्वसूचनाका लागि आजदेखि मोबाइलमा एकैपटक अलर्ट पठाउने प्रविधिको परीक्षण

0 Shares

काठमाडौं । बाढी, पहिरो, भूकम्प र प्रतिकूल मौसमजस्ता विपद्को पूर्वसूचना नागरिकसम्म तत्काल पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सोमबार साँझ ५ः३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा मोबाइलमार्फत परीक्षण सन्देश पठाउन लागेको हो ।

मन्त्रालयका अनुसार सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमको सहकार्यमा परीक्षण गर्न लागिएको हो । परीक्षणका क्रममा सम्बन्धित क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘परीक्षण सन्देश’ र ‘टेस्ट अलर्ट’ शीर्षकको सूचना प्राप्त हुन सक्नेछ ।

सन्देश प्राप्त हुँदा मोबाइलमा विशेष चेतावनी ध्वनि बज्ने वा कम्पन हुन सक्ने मन्त्रालयले जनाएको छ । एउटै सन्देश एकभन्दा बढी पटक पनि आउन सक्नेछ । यो वास्तविक विपद्को सूचना नभई प्रविधिको परीक्षण मात्रै भएकाले सन्देश प्राप्त हुँदा नआत्तिन र कुनै कदम नचाल्न मन्त्रालयले आग्रह गरेको छ ।

सेल ब्रोडकास्ट मोबाइल सञ्जालमा आधारित प्रविधि हो । यसबाट कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ । यसका लागि मोबाइलमा इन्टरनेट डाटा आवश्यक पर्दैन । व्यक्तिगत मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने झन्झट पनि हुँदैन ।

यो प्रणाली प्रभावकारी भएमा भविष्यमा बाढी, पहिरो, हिमनदी ताल विस्फोटन, भूकम्प तथा खराब मौसमका बेला जोखिममा रहेका क्षेत्रका नागरिकलाई तत्काल सूचना र आवश्यक सुरक्षात्मक निर्देशन दिन सकिने मन्त्रालयको अपेक्षा छ ।

प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप प्रभावकारी बनाउँदै देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि परीक्षणमा प्राप्त नतिजा, मोबाइल सञ्जालको पहुँच र प्रणालीको कार्यक्षमताको मूल्यांकन गरिनेछ ।

सम्बन्धित समाचार