भारतीय बजारका अवरोध हटाउन नेपाली निजी क्षेत्रको प्रस्ताव, जुट र स्टिल निर्यातको मुद्दा उठाउँदै श्रेष्ठ

0 Shares

नयाँदिल्ली । नेपालमा भारतीय लगानी भित्र्याउने प्रयाससँगै नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका व्यापारिक अवरोध हटाउन नेपाल उद्योग वाणिज्य महासंघले भारतसँग पहल गर्न प्रस्ताव गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली जुट र स्टिल उत्पादनमा लाग्दै आएको अतिरिक्त शुल्क तथा गुणस्तर प्रमाणीकरणमा देखिएका समस्या समाधान गर्न दुवै देशका निजी क्षेत्र सम्मिलित संयुक्त कार्यदल गठनको प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले नेपाल–भारत सम्बन्धलाई परम्परागत व्यापारिक सम्बन्धमा मात्र सीमित नराखी लगानी र उत्पादनमूलक सहकार्यमा रूपान्तरण गर्नुपर्ने बताए। भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न आग्रह गर्दै उनले दुवै देशको आर्थिक समृद्धि निजी क्षेत्रको सहकार्यबाट सम्भव हुने धारणा राखे।

अध्यक्ष श्रेष्ठले नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध ठूलो भए पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको बताए। उनका अनुसार गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो। नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र नेपालको कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले जानकारी दिए।

नेपालले गत वर्ष भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २९ अर्ब रुपैयाँ आम्दानी गरेको र यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले बढेको पनि उनले बताए।

जुट र स्टिल निर्यातमा भारतीय अवरोधको प्रश्न

अध्यक्ष श्रेष्ठले नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका समस्या पनि कार्यक्रममा उठाए। नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क र प्रस्तावित काउन्टरभेलिङ शुल्कले पूर्वी नेपालका हजारौँ किसान तथा श्रमिकको रोजगारी प्रभावित हुन सक्ने उनको भनाइ थियो।

त्यस्तै, भारतले नेपाली स्टिलमा सेफगार्ड ड्युटी लागू गरेपछि गत आर्थिक वर्षमा भारततर्फको नेपाली स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए। यी शुल्क र व्यापारिक अवरोधले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको भन्दै उनले समस्या समाधानका लागि दुवै देशका सरकारसँग समन्वय गर्नुपर्ने बताए।

भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रिया सहज हुँदै गएकोमा भारतलाई धन्यवाद दिँदै उनले प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणमा रहेका जटिलता हटाउन आग्रह गरे।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारसमक्ष साझा सुझाव पेस गर्न उनले प्रस्ताव गरेका छन्।

१०२ उद्योगमा स्वचालित स्वीकृति, ५९ ऐन संशोधनको प्रक्रिया

नेपालमा विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए। उनका अनुसार विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था गरिएको छ भने एकद्वार सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। त्यस्तै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको छ।

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको उल्लेख गर्दै उनले भारतीय उद्योगी व्यवसायीलाई लगानी विस्तार गर्न आग्रह गरे। नेपालमा लगानी गरेकाहरूले थप लगानी गर्नुपर्ने र नयाँ लगानीकर्ताले संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरे। उनले सरकारले लगानीका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजान कानुनी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपालको आर्थिक विकासमा भारत सकारात्मक रहेको उल्लेख गर्दै भारतीय लगानीकर्ताका लागि नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको बताए।

ऊर्जा र कनेक्टिभिटीमा दीर्घकालीन सहकार्यको प्रस्ताव

अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि ऊर्जा र पूर्वाधारलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै उनले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने दुई देशबीचको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच प्रमाणपत्रको पारस्परिक मान्यता र भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग गर्नुपर्ने उनले बताए। भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापारिक तथा लजिस्टिक हबका रूपमा विकास गर्नुपर्ने उनको प्रस्ताव थियो।

अयोध्या–जनकपुर रेल सेवा, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणाली विस्तारलाई पनि उनले प्राथमिकतामा राख्नुपर्ने बताए। द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।

पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिजस्ता क्षेत्रमा भारतीय लगानी विस्तार तथा संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकास गर्न पनि उनले आग्रह गरे।

नेपालबाट भारतमा ठूलो परिमाणमा वस्तु आयात हुने भएकाले नेपाली उद्योगको विकासले भारतीय उद्योगका लागि समेत थप बजार सिर्जना गर्ने श्रेष्ठको तर्क थियो। उनले नेपाल सरकारले अघि बढाएको निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता तथा लगानीको कानुनी र भौतिक सुरक्षा सुनिश्चित गर्ने दाबी पनि गरे।

भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य लिएको र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण तथा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको उल्लेख गर्दै उनले दुवै देशका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

सम्बन्धित समाचार