काठमाडौं । काठमाडौंमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका ६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन् ।
नागार्जुन नगरपालिका ४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा१ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको उक्त माइक्रोबस फेला पार्नुका साथै चोरीमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार चोरी भएको माइक्रोबस कलङ्की र चोरीमा संलग्नहरू स्वयम्भूस्थित बुद्धपार्क क्षेत्रबाट फेला परेका हुन् । पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।