प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हितसँगै सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

0 Shares

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले नेपाल-भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको हित हुने खालका सम्झौता गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री शाह यही ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा त्यसतर्फ जाँदै छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।

यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको मुख्य चासो र चिन्ता व्यापार घाटा भएकाले भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठान गर्न आवश्यक भएको बताए । भ्रमणका क्रममा भारतसँगको व्यापारघाटा कम गर्ने उपायलाई प्राथमिकतामा राख्दै नेपालबाट हुनसक्ने सेवा तथा वस्तुको निर्यातमा सहजीकरणका सन्दर्भमा काम गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी, सीमासँग सम्बन्धित विषय र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

‘नेपाल र भारतको सम्बन्ध विविधतामा आधारित छ, यो सम्बन्धलाई दीर्घकालीन विश्वासको सम्बन्धमा विकसित गराउनुपर्छ त्यसमा पनि विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘भ्रमणलाई फलदायी बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन हुने गरी कार्यक्रमहरु अगाडि बढाउनुपर्छ ।’ उनले भारतको पनि चासोलाई मध्यनगर गर्दै हाम्रो संवेदनशीलता र राष्ट्रिय हित अनुकूल हुने गरी आफ्ना विषय भारतसामु राख्न आवश्यक भएको बताउँछन् ।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वासलाई बलियो बनाउने कुरामा केन्द्रित हुनुपर्ने बताए । ‘छिमेकीका जायज सरोकारहरू सुन्नुपर्छ र विश्वासको वातावरण निर्माण गर्नुपर्छ। त्यसैले यो भ्रमण मुख्य रुपमा विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

उनका अनुसार नेपालका लागि थप हवाई रुटको विषय पनि महत्वपूर्ण छ । नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा सन् २०१८ मै भारत भ्रमणका क्रममा समझदारी भएको समेत उनले उल्लेख गरे । त्यसबाहेक जलविद्युत् आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

यसैगरी, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विगतमा सरकारले अगाडि बढाउन खोजेका अधुरा कामलाई पूरा गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । उहाँका अनुसार आजका लागि महत्वपूर्ण विषय हवाईमार्गको हो । नेपालले थप हवाईमार्ग प्राप्त गर्न सकेको खण्डमा दुवै देशलाई फाइदा पुग्ने उनको विश्वास छ ।

‘दुवै देशबीच थप हवाईमार्गमा सहमति भयो भने यसले क्षेत्रीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग गर्छ, दुवै देशका नागरिकको आवतजावत बढ्छ, व्यापार विस्तार हुन्छ र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्छ,’ उनले भने ।

उनका अनुसार नेपालले उठाएका माग र प्रस्तावमध्ये कुन-कुन विषय सम्भव छन् भन्नेबारे पनि आपसी समझदारी आवश्यक छ । साथै सबै पक्षलाई राम्रोसँग बुझेर सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उनको भनाइ छ ।

पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई परस्पर विश्वास अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । दुई देशको सम्बन्धमा अलि तिक्तताजस्तो देखिएको थियो, त्यसलाई आपसी समझदारीसहित विश्वासमा बदल्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार नेपाल–भारतबीचमा रहेका पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवादलाई समाधान गर्न पनि आवश्यक छ । त्यसबाहेक सुरक्षाका विषयमा एक अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण बनाउन जरुरी भएको उनले उल्लेख गरे । त्यसैगरी दुई देशबीचको सीमामा नागरिकले भोग्नु परेको समस्या समाधानमा पनि ध्यान दिन आवश्यक रहेको पूर्वपरराष्ट्रमन्त्री यादवले बताए ।

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा राजनीतिक र जनताका दैनिकीसँग जोडिएका दुई वटा विषयलाई छुट्टाछुट्टै रुपमा हेरिनुपर्ने बताउँछन् । उनका अनुसार हवाई मार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण छ । त्यसबाहेक विद्युत् व्यापार, ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठान गरिनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार