गृहमन्त्रीले बर्खास्त गरेका एआईजी दाहालको निवेदन प्रधानमन्त्री कार्यालयमा

0 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बाट बर्खास्त गरेका वंशीराज दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका छन्।

बिचौलिया इनम सापकोटासँगको कनेक्सन बाहिरिएपछि दाहाल बर्खास्तीमा परेका थिए। उनलाई सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले छानबिन गरेर बर्खास्त गरेको थियो।

एआईजीको पदावधि सकिनु चार दिन पहिले उनलाई असोज २३ गते बर्खास्त गर्ने निर्णय भएको थियो। उनको चार वर्षे पदावधि असोज २७ गते सकिँदै थियो।

सशस्त्र प्रहरीमा डीआईजी र एआईजीको एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार, म्याद थपका लागि उनको प्रक्रिया समेत अगाडि बढेको थियो।

तर इनमसँग जोडिएपछि उनले चार वर्षे कार्यकाल समेत पूरा गर्न पाएनन्। आचरणविपरितका गतिविधि गरेको भन्दै उनी कारबाहीमा परेका हुन्।

गृहमन्त्रीले एआईजीलाई सेवाबाट हटाउन सक्छन्। तर गृहमन्त्रीको निर्णय चित्त नबुझेमा ३५ दिन भित्रमा मन्त्रिपरिषद्मा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ। उनले आफूलाई बर्खास्त गर्ने निर्णयमा पुनरविचार गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका हुन्।

दाहाल हालका आईजीपी नारायणदत्त पौडेलकै ब्याची हुन्। कारबाहीमा नपरेर एक वर्ष पदावधि थप गरिएको भए उनी २०८४ असोज २७ गतेसम्म सेवामा रहन पाउँथे।

सम्बन्धित समाचार