जनकपुरधाम । सिरहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइन लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ६९६६ नम्बरको टीभीएस मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा यादवको साथबाट ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालले जनाएका छन् । प्रहरीले उनको साथबाट एउटा भिभो कम्पनीको मोबाइलसमेत बरामद गरेको छ ।
लागुऔषध, मोटरसाइकल र मोबाइलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।