७ वर्षमा सिटिजन्स म्युचुअल फण्ड–२ ले दियो औसत १०.४० प्रतिशत प्रतिफल, ‘सिटिजन्स सुपर ५०’ मंसिर २ गतेदेखि खुल्दै

0 Shares

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षको अवधिमा इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल दिन सफल भएको छ । सात वर्षे अवधि पूरा गरी योजना परिपक्व भएपछि इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानीसमेत सुरु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ ले आफ्नो निर्धारित सात वर्षे अवधि पूरा गरेको हो ।

५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरी परिपक्व भएको योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिएको कम्पनीले जनाएको छ ।

योजनाको खारेजीसम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । नेपाली धितोपत्र बजारमा विभिन्न समयमा आएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद निरन्तर प्रतिफल वितरण गर्न सफल हुनुलाई कम्पनीले आफ्नो व्यावसायिक लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा लिएको छ ।

यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत पनि कम्पनीले औसत वार्षिक १२ प्रतिशत प्रतिफल दिएको थियो । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई प्रतिफल प्रदान गर्नुका साथै व्यवस्थित र दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायत विभिन्न सामूहिक लगानी कोष योजना व्यवस्थापन गरिरहेको छ ।

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि

सिटिजन्स क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ । यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापन क्षमताका लागि इक्रा नेपालबाट एएमसी क्वालिटी थ्री प्लस (AMC Quality 3+) रेटिङ प्राप्त गरेको छ । विगतका सामूहिक लगानी कोष योजनाको व्यवस्थापनबाट हासिल अनुभव, संस्थागत क्षमता र व्यावसायिक दक्षताको उपयोग गर्दै सिटिजन्स सुपर ५० को लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य छ ।

यस योजनाले दीर्घकालीन लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने अपेक्षा कम्पनीले गरेको छ । सिटिजन्स क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् । कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण र पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार