दुर्घटनामा बाबु-छोराले गुमाए ज्यान, एकै चितामा अन्त्येष्टी

0 Shares

बाँके । एकै घरका बाबु-छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी ५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ । बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका बुवा ६६ वर्षीय दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया ११ लालपुरमा मिनीफोर्स बससँग ठोक्किँदा निधन भएको थियो ।

बाबु-छोराको एकसाथ निधन भएपछि सिङ्गो चिलहरिया गाउँ शोकमग्न भएको स्थानीय जुद्ध पुनले बताए । भारतमा रोजगारी गर्दै आएका उनीहरु तिहार मनाउन नेपाल फर्किएका थिए । बर्दियाको गुलरियामा छोरी भेट्न जाने क्रममा उक्त घटना भएको थियो ।

गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को मिनि फोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ गइरहेको भारतीय मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।

त्यस सडक दुर्घटनामा बाबु-छोराको ज्यान गएपछि आफन्त र छिमेकी गाउँवासीले दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्ज-राजापुर सडक अवरुद्ध पारे पनि सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गरेर फर्किएको राप्ती सोनारी गाउँपालिका ५ का वडाध्यक्ष झगरु थारुले बताए ।

मृत्यु भएको तीन दिन बित्दासम्म निकाश ननिस्केपछि मुद्दा दर्ता गर्ने सहमतिमा बाबु-छोराको शव आफन्तजनले बुझेका छन् । मृतक बाबु-छोराको आज स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष थारुले बताए ।

स्थानीय अगुवा तारा ओलीले चाडपर्वको बेला परदेशबाट घर फर्किएका बाबु-छोरालाई सडकमै गुमाउनुपर्दा सिङ्गो बिनौनावासी नै स्तब्ध र शोकमग्न रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘चाडपर्व मनाउन घर फर्किएका बाबु-छोराको अकाल मृत्युले खत्री परिवारको सहारा खोसिएको छ भने असुरक्षित सडक यात्राले फेरि एकपटक ग्रामीण बस्तीमा कहिल्यै निको नहुने घाउ छाडेको छ ।’

सम्बन्धित समाचार