काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका ४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जनालाई सर्वाजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गर्दै तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्ति हत्यामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एसपी बशुन्धरा खड्काका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका १ घर का ३८ वर्षीय एकेन्द्र सार्की रहेका छन् । प्रहरीले ‘अप्रेशन महाभारत’ नाम दिएर उनको खोजी गरेको थियो ।
एकेन्द्रले जेठ ७ गते राति मान बहादुर बल र निजको श्रीमती केकै माया तामाङलाई फलामको रड र घनलगायत औजार प्रहार गरी हत्या गरेका थिए । हत्यापछि सुनका गरगहना, मृतकको पसलमा रहेको रिचार्ज कार्ड तथा नगद रकम लुटिएको थियो ।
पक्राउ परेका व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न हत्या गरेको उनको भनाइ थियो ।