काठमाडौं । १७ कात्तिकः काठमाडौंको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका ७ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । बाप्र ०२०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले बताए ।