मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशत बढेर ३२ करोड, सञ्चालन मुनाफा दोब्बरभन्दा बढी

0 Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धि मुख्य कारण देखिएका छन्। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ७४.९७ प्रतिशतले घटेर १३ करोड ५४ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यस्तो रकम ५४ करोड ११ लाख रुपैयाँ थियो।

इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन मुनाफा १३५.५४ प्रतिशतले बढेर ७५ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा ३२ करोड ११ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ थियो। खुद फि तथा कमिसन आम्दानी भने ५६.९१ प्रतिशतले बढेर १९ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप २.२० प्रतिशतले बढेर १ खर्ब २६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह पनि ४.९४ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ।

तर, बैंकको खराब कर्जामा भने वृद्धि देखिएको छ। कुल निष्क्रिय कर्जा ४.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ। खुद निष्क्रिय कर्जा पनि १.३२ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जाको नोक्सानी व्यवस्थाको कभरेज भने १०२.३८ प्रतिशतबाट घटेर ८३.६७ प्रतिशतमा झरेको छ।

नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ २४ पैसाबाट बढेर १६ रुपैयाँ १२ पैसा पुगेको छ। पुँजीमा प्रतिफल ९.८४ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.९० प्रतिशत कायम भएको छ।

बैंकको आधार दर ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशत र निक्षेपको लागत ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा झरेको छ। औसत ब्याजदर अन्तर ४.३८ प्रतिशत रहेको छ। पहिलो त्रैमासको अन्त्यमा बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।

सम्बन्धित समाचार