काठमाडौं । बलात्कारको आरोपमा फरार भएका मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह प्रहरी हिरासतमा पुगेका छन् ।
उपसचिव साहले गत शनिबार धनुषा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत माघ १८ गते साहले मधेस प्रदेशको भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरभित्र ‘भगवानको प्रसाद’ नशालु पदार्थ मिसाएको खाना दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप लागेको थियो ।
पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहरी जाहेरी दिएकी हुन् । महिलाको जाहेरीसँगै धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सिराहाको बरियारपटी गाउँपालिका ४ तेनुवापट्टी निवासी साह फरार भएका थिए । आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।