‘भारतसँग कूटनीतिक सम्बन्ध सही ढंगले व्यवस्थापन गरे विदेश मामिलाका आधाभन्दा बढी चुनौती घट्छन् : सौरभ राज पन्त’

0 Shares

काठमाडौं। ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानका संयोजक सौरभ राज पन्तले भारतसँग प्रभावकारी कूटनीतिक सम्बन्ध कायम गर्न सके नेपालको विदेश मामिलासम्बन्धी आधाभन्दा बढी चुनौती कम हुन सक्ने बताएका छन्।

गृहमन्त्री सुदन गुरुङले भारतको नयाँदिल्ली भ्रमणपछि हिन्दुस्तान टाइम्समा प्रकाशित गरेको लेखमाथि टिप्पणी गर्दै पन्तले नेपाल–भारत सम्बन्धमा विकास कूटनीतिलाई प्राथमिकता दिनु सकारात्मक भए पनि राष्ट्रिय हित, सार्वभौमिकता र सीमा विवादजस्ता संवेदनशील राजनीतिक विषयलाई बेवास्ता गर्न नहुने बताएका हुन्।

पन्तका अनुसार नेपालका लागि भारत केवल छिमेकी मुलुक मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, व्यापारिक तथा रणनीतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण साझेदार हो। दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, सम्मान र व्यावहारिक सहकार्यका आधारमा अघि बढाउन सके नेपालको समग्र परराष्ट्र नीतिमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

‘भारतसँग मात्रै हामीले राम्रोसँग कूटनीतिक डिल गर्न सक्यौँ भने पनि हाम्रो विदेश मामिलाका करिब आधाभन्दा बढी चुनौती कम हुन्छन्,’ पन्तले भने, ‘तर त्यसका लागि विकास कूटनीतिसँगै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र संवेदनशील राजनीतिक मुद्दाहरूलाई पनि समानान्तर रूपमा सम्बोधन गर्न आवश्यक छ।’

गृहमन्त्री गुरुङले बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन नयाँदिल्ली भ्रमण गरेपछि हिन्दुस्तान टाइम्समा प्रकाशित गरेको लेख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसअघि सोही सञ्चारमाध्यममा प्रकाशित गरेको लेखसँग केही हदसम्म मिल्दोजुल्दो रहेको पन्तको विश्लेषण छ।

उनका अनुसार दुवै लेखले भारतसँगको सम्बन्धमा विकास कूटनीति, व्यावहारिक सहकार्य र साझा हितका विषयलाई प्राथमिकता दिएका छन्। तर नेपाल–भारतबीच लामो समयदेखि समाधान हुन नसकेका सीमा विवादलगायत संवेदनशील राजनीतिक मुद्दाहरूमा तुलनात्मक रूपमा कम जोड दिइएको देखिन्छ।

गुरुङको लेख मुख्यतः लागूऔषध तस्करी, साइबर अपराध, आतंकवाद तथा प्राकृतिक विपत्तिजस्ता साझा सुरक्षा चुनौतीहरूमा केन्द्रित रहेको पन्तले उल्लेख गरेका छन्। सुनसरीमा देखिएका साम्प्रदायिक तनाव र भोटेकोशीको बाढीबाट उत्पन्न परिस्थितिजस्ता घटनाले पनि सीमापार सुरक्षा समन्वय तथा विपद् व्यवस्थापनमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको देखाएको उनको भनाइ छ।

यद्यपि, भारतसँग विकासमुखी कूटनीतिलाई मात्र प्राथमिकता दिँदा नेपालभित्र राजनीतिक बहस र असन्तुष्टि सिर्जना हुन सक्ने सम्भावनातर्फ पनि पन्तले ध्यानाकर्षण गराएका छन्।

विशेषगरी राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सीमा विवादका विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाउँदै आएका वामपन्थी दल तथा अन्य राजनीतिक शक्तिहरूले विकास कूटनीतिको वर्तमान प्राथमिकतालाई फरक दृष्टिकोणबाट हेर्न सक्ने उनको विश्लेषण छ।

विकास कूटनीतिका नाममा राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयहरू ओझेलमा परेको सन्देश गए त्यसले आन्तरिक राजनीतिक ध्रुवीकरण बढाउन सक्ने पन्तको भनाइ छ।

त्यसैले रास्वपा नेतृत्वले भारतसँग आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, सुरक्षा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्दै सीमा विवाद र सार्वभौमिकतासम्बन्धी विषयमा पनि स्पष्ट तथा सन्तुलित कूटनीतिक दृष्टिकोण अपनाउनुपर्नेमा उनले जोड दिएका छन्।

पन्तका अनुसार विकास र राष्ट्रिय स्वाभिमान एकअर्काका विरोधी विषय होइनन्। आर्थिक समृद्धिका लागि छिमेकी मुलुकसँग सहकार्य गर्नु आवश्यक भए पनि त्यसका लागि राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सम्झौता गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन।

नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै भारतसँग विश्वासमा आधारित सम्बन्ध निर्माण गर्नु दीर्घकालीन राष्ट्रिय हितका लागि महत्त्वपूर्ण हुने उनको धारणा छ।

यसै सन्दर्भमा पन्तले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानले नेपालको परराष्ट्र नीति, आर्थिक विकास र राष्ट्रिय हितका विषयमा साझा दृष्टिकोण निर्माण गर्न भूमिका खेल्न सक्ने बताएका छन्।

राजनीतिक दल, युवा पुस्ता, निजी क्षेत्र, विज्ञ तथा समुदायका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय प्राथमिकताका विषयमा रचनात्मक संवाद अघि बढाउनु अभियानको उद्देश्य रहेको उनले स्पष्ट पारे।

नेपालको परराष्ट्र नीति दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमति र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्नेमा पन्तले जोड दिएका छन्।

भारतसँगको सम्बन्धलाई केवल राजनीतिक विवाद वा आर्थिक अवसरका रूपमा मात्र नभई नेपालको समग्र राष्ट्रिय हितसँग जोडिएको बहुआयामिक सम्बन्धका रूपमा बुझ्नुपर्ने उनको धारणा छ।

‘हामीले भारतसँगको सम्बन्धलाई सही ढंगले व्यवस्थापन गर्न सक्यौँ भने त्यसले नेपालको आर्थिक विकासमा मात्र होइन, विदेश नीतिका धेरै जटिल चुनौती समाधान गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,’ पन्तले भने।

उनले विकास कूटनीति र संवेदनशील राजनीतिक मुद्दालाई एकअर्काको विकल्पका रूपमा नभई समानान्तर रूपमा अघि बढाउँदै भारतसँगको सम्बन्धमा सन्तुलित, परिपक्व र परिणाममुखी कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन्।

सम्बन्धित समाचार