काठमाडौं । लुम्बिनी केबलकारमा भारतीय पर्यटकको सङ्ख्या एक वर्षमा २४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको आगमन बढेको कम्पनीले जनाएको छ ।
मंगलबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको सञ्चालक समितिको वार्षिक प्रतिवेदनअनुसार केबलकार यात्रा गर्ने कुल पर्यटकमध्ये भारतीयको हिस्सा २९ प्रतिशत पुगेको छ ।
भारतको उत्तर प्रदेशसँगै दिल्ली, झारखण्ड, बिहार, केरला र आन्ध्र प्रदेशबाट आउने पर्यटकले पाल्पाको वसन्तपुर डाँडामा रहेको कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ । भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकसँग समन्वय र भारतीय भ्लगरमार्फत प्रचारप्रसारलाई तीव्र बनाइएको कम्पनीले जनाएको छ ।
केबलकारको माथिल्लो स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको होटल र क्यासिनो निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । होटलको नक्सापास अन्तिम चरणमा पुगेको र खानेपानी आपूर्तिको व्यवस्थापन आंशिक रूपमा पूरा भएको अध्यक्ष ढकालले बताए ।
कम्पनीले आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडलगायत मनोरञ्जनात्मक पूर्वाधार थप गर्ने योजना बनाएको छ । यसबाट केबलकारमा आउने पर्यटकलाई थप आकर्षित गर्ने कम्पनीको लक्ष्य छ ।
बजार प्रवर्द्धनका लागि बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी सङ्घसंस्था, ४५ भन्दा बढी शिक्षण संस्था, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष र शङ्करनगर वन विहारसँग सहकार्य तथा टिकट छुटसम्बन्धी सम्झौता गरिएको प्रतिवेदनमा उल्लेख छ ।
विश्व भूराजनीतिक अवस्था र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण तथा मितव्ययितामा जोड दिँदै आएको कम्पनीले आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्याइरहेको जनाएको छ ।