कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशत बढ्यो, तीन महिनामा २३ करोड कमायो

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र खराब कर्जाका लागि छुट्याउनुपर्ने रकम घट्नु मुख्य कारण देखिएका छन्। बैंकको खुद ब्याज आम्दानी बढेर ६२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ११ करोड रुपैयाँभन्दा बढी रहेको खराब कर्जासम्बन्धी व्यवस्था यस वर्षको पहिलो त्रैमासमा घटेर करिब ४ करोड रुपैयाँमा झरेको छ।

असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति ७६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ५६ अर्ब रुपैयाँ पुगेको छ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको २० प्रतिशत असञ्चयी अग्राधिकार सेयर जारी गरी पुँजी जुटाएको छ। यससँगै बैंकको सेयर पुँजी ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। बैंकको पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) १२.९७ प्रतिशत रहेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात २०.५८ गुणा छ।

बैंकको खराब कर्जा अनुपात भने बढेर ३.९३ प्रतिशत छ। खराब कर्जा वृद्धिले बैंकको कर्जा असुली र जोखिम व्यवस्थापनलाई चुनौती दिन सक्छ। बैंकले खराब सम्पत्ति व्यवस्थापन, जोखिम नियन्त्रण र कर्जा असुलीलाई प्राथमिकतामा राख्ने जनाएको छ।

सम्बन्धित समाचार