काठमाडौं । सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त योजना सार्वजनिक गरेका हुन् ।
मन्त्री लम्सालका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । प्रस्तावित रंगशालामा कम्तीमा आठ हजार दर्शक अट्ने क्षमता र रात्रिकालीन खेल सञ्चालनका लागि फ्लडलाइटको व्यवस्था गरिनेछ ।
सरकारले आगामी तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्री लम्सालले बताएका छन् । यस योजनाले एनपिएललाई देशका विभिन्न सहरमा विस्तार गर्न तथा नेपाली क्रिकेटको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मन्त्री लम्सालले क्रिकेट संघ (क्यान)लाई पनि प्रस्तावित योजनाअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् । देशभर क्रिकेट पूर्वाधार विस्तार हुँदा प्रतियोगिता सञ्चालनका थप अवसर सिर्जना हुनुका साथै स्थानीय स्तरमा क्रिकेटको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसैबिच, नेपाली क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा रहेको एनपिएलको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै मन्त्री लम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गरेका हुन् ।