काठमाडौं । मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ ।
अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी)ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले एआई विकासमा लगानी गने योजना सार्वजनिक गरेको हो ।
फेसबुकको मातृ कम्पनी मेटाले थप ६० अर्ब डलरसम्मको सेयर निष्कासन गर्ने योजना पनि घोषणा गरेको छ । जसको मिति अझै तय भएको छैन । यो कोष संकलन मेटाले एआई क्षेत्रमा प्रतिस्पर्धा गर्न पुँजी जुटाउन थप लचिलोपन दिने भन्दै भोटिङ अधिकार नहुने नयाँ प्रकारको सेयर सिर्जना गरेको केही दिनपछि आएको हो ।
एआई डाटा सेन्टरको विकाससँग जोडिएका मुख्य आपूर्तिकर्ता चिप निर्माता कम्पनीहरू एनभिडिया, एएमडी र ब्रोडकमले प्रस्तावित साझा सेयरमध्ये पाँच अर्ब डलरसम्म किन्ने चासो देखाएका मेटाले जनाएको छ । तर, यी चासो बाध्यकारी छैनन् ।
कम्पनीले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) क्षमता विस्तार गर्न आक्रामक रुपमा खर्च गरिरहेको छ र लगानीकर्ताहरूले यी लगानीबाट प्रतिफल देखिने संकेत खोजिरहेका छन् ।
नयाँ सेयरमा भोटिङ अधिकार नभएकाले मेटाले संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको भोटिङ नियन्त्रण कम नगरी यी सेयर जारी गर्न सक्छ । गुगलको मातृ कम्पनी अल्फाबेटाले आफ्नै एआई डाटा सेन्टर विस्तारका लागि हालै सेयर निष्कासनमार्फत ८५ अर्ब डलर उठाएको थियो ।