काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका चारवटा प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहे पनि तराईका भूभागमा बिहानीपख हल्का हुस्सु र कुहिरो लाग्ने गरेको छ भने पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था सुरु भएको छ ।
महाशाखाको हालैको बुलेटिन अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा आंशिक बदली भई हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका भूभागमा भने दिउँसो मौसम सामान्यतया सफा नै रहनेछ । यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
मौसममा आउने यो आंशिक परिवर्तन र हल्का वर्षा तथा हिमपातको सम्भावनालाई दृष्टिगत गर्दै उच्च पहाडी तथा हिमाली भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।