काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट हुँदै पराजित भएको हो । ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए ।
नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । करण केसीले अन्त्यतिर १६ बलमा ४० रन बनाएर खेले ।
अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए । हस्नेन शाहले १ विकेट लिए ।
यो जितपछि लिग २ अंक तालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ । नेपालले यो खेल जित्नै पर्ने दबाबमा थियो । नेपालले अर्को खेलमा शनिबार क्यानडासँग खेल्दै छ ।