काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानको अल अमरातमा आज हुन लागेको नेपाल र क्यानडाबीचको भिडन्त नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र विशेष मानिएको छ । नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने लिग-२ को १३८औँ खेलमा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रिने छन् ।
नेपालका लागि आजको खेल आगामी चक्रका लागि आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्ने सुनौलो अवसर हो । नेपालले आजको खेलमा जित निकालेमा एक खेल बाँकी छँदै अंक तालिकाको शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्ने छ । हाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा रहेको नेपाल आजको खेल जितेर शीर्ष ६ को दौडलाई टुङ्गोमा पुर्याउन चाहन्छ ।
अर्कातर्फ, क्यानडाका लागि यो खेल अस्तित्वको लडाइँ जस्तै बनेको छ । लिग-२ मा क्यानडाको यो अन्तिम (३६औँ) खेल हो र शीर्ष ६ को दौडमा आफूलाई जीवित राख्न उसलाई आजको खेल जित्नैपर्ने दबाब छ । हाल क्यानडा ३५ खेलबाट २७ अंकसहित तालिकाको सातौँ स्थानमा छ । अंक तालिकाको यो प्रत्यक्ष प्रतिस्पर्धाले गर्दा पनि आजको खेल दुवै टोलीका लागि ‘कर या मर’ को स्थितिमा पुगेको छ ।
जारी शृङ्खलामा उत्कृष्ट लयमा देखिएको नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ । यसअघि नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको विशाल अन्तरले पराजित गरिसकेको छ । नेपाल आज पनि सोही लय कायम राख्दै शृङ्खलामा जितको ह्याट्रिक गर्ने योजनामा छ ।
यदि आज नेपाल पराजित भएमा शीर्ष ६ मा पर्नका लागि आगामी सोमबार हुने ओमानविरुद्धको अन्तिम खेलसम्म कुर्नुपर्ने छ। जसले नेपाली टोलीमाथि दबाब बढाउन सक्छ ।