इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय ‘एआई साइबर सुरक्षा’ अवार्ड

0 Shares

काठमाडौं ।  नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालिले इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा कम्पनीलाई सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रियस्तरको ‘AI in Cybersecurity Award’ बाट सम्मानित भएको छ।

अक्टोबर ७, २०२६ मा जकार्तास्थित Swissôtel Jakarta PIK Avenue मा आयोजित Awardee Showcase कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा ASOCIO बोर्डका सदस्य, अवार्ड विजेता तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूको सहभागिता थियो।

विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, निगरानी, प्रतिक्रिया तथा सुरक्षा प्रणाली सुदृढीकरणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग गरेबापत कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

सन् १९८४ मा स्थापित ASOCIO एसिया र ओसियानाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू आबद्ध क्षेत्रीय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उद्योग संस्था हो। यसले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ।

सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी हाल सयौँ संस्थालाई सेवा प्रदान गर्ने साइबर सुरक्षा तथा म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकका रूपमा विकसित भएको छ। कम्पनीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ शर्माले यो अवार्ड कम्पनीका इन्जिनियर, विश्लेषक तथा आफ्ना प्रणालीको सुरक्षाका लागि विश्वास गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको उपलब्धि भएको बताएका छन्।

“हामीले प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउन इन्साइट टेक्नोलोजीको स्थापना गरेका हौँ,” उनले भने, “क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा इकोसिस्टममा कस्तो योगदान दिन सक्छन् भन्ने प्रदर्शन गर्न पाउँदा गौरवान्वित भएका छौँ।”

सम्बन्धित समाचार