काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट मुक्त भई कानुनको शासन कायम गर्न प्रहरी अधिकृतहरूलाई कडा निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक ९इन्स्पेक्टर० आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले इमानदारी, अनुशासन र नैतिकतालाई सदैव प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न आग्रह गरे ।
करिब १६ महिना लामो कठोर तालिम सफलतापूर्वक पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले पेसागत मर्यादा कायम राख्न र निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनको साख र छवि उच्च राख्न इमानदारी र अनुशासन अनिवार्य रहेको उल्लेख गरे । सङ्गठनको मर्यादा र प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थ वा अनुचित प्रभावमा नपरी निर्भीक भई काम गर्न उनले सचेत गराए ।
नागरिकको जिउधनको रक्षा, शान्ति सुरक्षाको प्रत्याभूति र अपराध अनुसन्धान नेपाल प्रहरीको मूल जिम्मेवारी भएको स्मरण गराउँदै प्रधानमन्त्री शाहले यसमा कुनै पनि किसिमको सम्झौता नगर्न ताकेता गरे ।
बदलिँदो समयसँगै अपराधको स्वरूप पनि परिवर्तन भइरहेकाले अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिए । साथै, प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भने, “यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी सम्हाल्न आवश्यक ज्ञान, सीप र दक्षता हासिल गर्नुभएको छ भन्ने मैले विश्वास लिएको छु। अब यो प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको मुख्य आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु।”
उहाँले संविधान, प्रचलित कानुन र नियमको पूर्ण पालना गर्दै कुनै पनि बाह्य वा अनुचित दबाबमा नपरी निष्पक्ष रूपमा कर्तव्य पथमा लाग्न आग्रह गरे ।
दीक्षान्त समारोहमा प्रशिक्षार्थीका अभिभावक, उच्च प्रहरी नेतृत्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। तालिम पूरा गरेका नवप्रवेशी प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर आफ्नो सेवा आरम्भ गर्नेछन्।