म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० परिवारको बसोबास रहेको महभिरका सबै बासिन्दा पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् ।
महभिरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका ८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले पहिरो प्रभावितहरू सिरुवारीमा अस्थायी शिविर बनाएर बस्न थालेका जानकारी दिए । ‘बस्तीदेखि तल ठूलो पहिरो छ, गाउँको बीचबीचमा पनि पहिरोले चिराचिरा पारेको छ। घरगोठका पर्खाल, आँगन चर्किएर बस्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गाउँनै पहिरोले बगाउने जोखिम भएकाले सिरुवारीमा अस्थायी शिविर बनाएर राखेका छौँ ।’
महभिरमा रहेको कक्षा ५ सम्मको पठनपाठन हुने चन्द्र आधारभूत विद्यालयलाई पनि सिरुवारीमा सारिएको वडाध्यक्ष गर्बुजाले बताए । असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछि महभिरमा पहिरो सिर्जना भएको हो ।
वडाको विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनअनुसार महभिरसहित अन्नपूर्ण ८ वडामा पर्ने साविक राम्चे गाविसका ५२ परिवारका १२६ जना विस्थापित भएका छन् । पहिरोले घर बगाउँदा धारापानीमा सविन चोचाङ्गीको मृत्यु भएको र मनोज चोचाङ्गी बेपत्ता भएका छन् ।
ओखलखर्क झुम्रेखोरमा तीन, धारापानीमा चार, गाउँफाँटमा ११, थलथलेमा तीन र चिनारमा दुई घरका परिवार विस्थापित भएका काँफलडाँडाका अगुवा रवी गर्बुजाले जानकारी दिए । विस्थापितलाई गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले उपलब्ध गराएको टेन्टमा शिविर बनाएर राखिएको छ ।
नागी र राम्चेको बिचमा पहिरो गएकाले पहिरो प्रभावित बस्न थालेको सिरुवारी जोड्ने सडक यातायात अवरुद्ध छ । विस्थापितलाई खाद्यान्न र राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सवारीसाधनमार्फत बेनीदेखि मल्लाज, फलामेडाँडा हुँदै नागी पुर्याइएको राहत सामग्री स्थानीयवासीले पिठ्युमा बोकेर ढुवानी गर्ने गरेका छन् ।
पहिरोका कारण महभिर गाउँलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार तत्काललाई अस्थायी शिविरमा रहेका विस्थापितहरुलाई दीर्घकालीन रुपमा स्थानान्तरण र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरिएको छ ।