व्यवसायमैत्री कानुन बनाउन निजी क्षेत्रलाई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्छ : अध्यक्ष श्रेष्ठ

0 Shares

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रलाई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ४७औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले नीति निर्माण र कानुनी सुधारका छलफलमा निजी क्षेत्रको सहभागिता औपचारिकतामा मात्रै सीमित गर्न नहुने बताए ।

सरकारसँग व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारका विषयमा महासङ्घले निरन्तर संवाद गरिरहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेशमा सुधारका लागि सुझाव दिएको बताए । उनका अनुसार महासङ्घले हालै सरकारसमक्ष ३६ बुँदे सुझावपत्रसमेत पेस गरेको छ ।

“नीति निर्माण र कानुनी सुधारका छलफलमा निजी क्षेत्रलाई औपचारिक उपस्थितिमा मात्रै सीमित गर्नु हुँदैन, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा होइन, मुख्य सरोकारवालाका रूपमा सहभागी गराइनुपर्छ,” उनले भने ।

प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवर्द्धनसम्बन्धी अवधारणामा काम भइरहेको र अर्थमन्त्रीबाट १६ वटा ऐन सुधारको काम भएको पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले युवा उद्यमी तथा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न सरकारले ल्याएका सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नवीन उद्यमीको पहिचान र कर्जा प्राप्त गर्ने प्रक्रियामा देखिएका अस्पष्टता हटाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घसँग समन्वय र सहकार्य गरी उद्योगी व्यवसायीको हितमा काम गर्दै आएको बताइन् । उनले आगामी दिनमा पनि प्रभावकारी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले उद्योग व्यवसायलाई प्रविधिमैत्री बनाउन आग्रह गर्दै विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले विपद्बाट व्यवसायमा हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीमा लगानी बढाउनुपर्ने बताए । उनले नीतिगत सुधारका क्रममा निजी क्षेत्रलाई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्नेमा पनि जोड दिए ।

सङ्घको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुसन महर्जन र महासचिव भूमि नन्दन कर्माचार्य प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार

ताजा अपडेट