नेपालमा सुनको अवैध धन्दा चलाउन चीनबाट निर्देशन, बरामद सुनको मूल्य साढे ५४ करोड

0 Shares

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ माथिल्लो भंगालमा बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाट आउने निर्देशनअनुसार हुने गरेको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्‍यादिन निर्देशन दिने गरेको प्रहरीले जनाएको छ ।

कार्यालयले माथिल्लो भंगालस्थित घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको थियो । सुनसहित पक्राउ परेकाहरूलाई आज शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको र मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको छ । कार्यालयले बिहीबार चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको हो ।

उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएका थिए । उनले चार महिनाका लागि अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

सम्बन्धित समाचार