काठमाडौं । दसैँको अग्रिम टिकट खुल्नुअघि काठमाडौंको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । केही जिल्लाका यात्रु भने बिहीबार रातिदेखि टिकट लिन लाइनमा बसेका थिए ।
नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले आज राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए ।
मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु आज रातिदेखि नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ ।