काठमाडौं । चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सार्वजनिक यातायातका सबै सवारीसाधनले सात दिनअघिको ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल प्रहरीले पहिलोपटक चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत यस्तो व्यवस्था लागू गर्न लागेको हो।
बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै प्रहरीले बुधबारदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ। सुरक्षा योजनाअन्तर्गत करिब ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए।
चाडपर्वमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले सार्वजनिक यातायातमा हुने दुर्घटना तथा यात्रुको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सवारी जाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ। सवारी चालकको अनुमतिपत्र जाँच, लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने व्यवस्था र क्षमताभन्दा बढी यात्रु राख्न नदिने नियमलाई कडाइका साथ लागू गरिनेछ।
प्रहरीका अनुसार सवारीसाधनले सात दिनअघिको मेकानिकल टेस्ट रिपोर्ट पेस गर्नुपर्नेछ। यसबाट लामो दूरीमा सञ्चालन हुने सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य प्रहरीले लिएको छ।
चाडपर्वका बेला यात्रुलाई दुःख दिने, टिकटको मूल्य बढाउने, कालोबजारी गर्ने र सिट नभएको टिकट बिक्री गर्ने प्रवृत्तिमाथि पनि प्रहरीले निगरानी बढाउने भएको छ।
सुरक्षा योजनाअन्तर्गत देशभर करिब ५० हजार प्रहरी परिचालन गरिएका छन्। यात्रुको सहजताका लागि ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय सीमा नाकामा पनि १०८ वटा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी त्यहीँबाट सुरक्षा परिचालनको व्यवस्था मिलाइएको छ। पैदल, मोबाइल तथा ग्रामीण गस्तीका साथै विभिन्न स्थानमा चेकप्वाइन्ट र ट्राफिक प्रहरीसहितको चेकजाँचलाई समेत बढाइएको छ।
प्रहरीले चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, तस्करी, सीमा अपराध, विस्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने चोरी र लुटपाटलाई चाडपर्वका प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
त्यस्तै खाद्यान्न, लत्ताकपडा तथा उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणमा समेत प्रहरीले विशेष निगरानी गर्नेछ।
सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, सिसीटिभी, ‘बडी वर्न क्यामरा’लगायत प्रविधिको प्रयोग गरिनेछ। प्रमुख सहरका बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिने प्रहरीले जनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा नियन्त्रणमा पनि प्रहरीले शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ।
सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ।
प्रहरीले चाडपर्वको सुरक्षा व्यवस्थालाई जिल्ला र प्रदेश प्रहरी प्रमुखको कार्यसम्पादनसँग समेत जोडेको जनाएको छ। चाडपर्वमा नागरिकको सुरक्षित आवागमन, दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।