काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उपसभापति पदको उम्मेदवारी दिएका डा. मीनेन्द्र रिजालले उम्मेदवारी फर्ता लिने तयारी गरेका छन् । पार्टीका सभापति गगन थापाले समर्थन गर्न नसक्ने बताएपछि उनले उम्मेदवारी फिर्ता लिने बताएका हुन् ।
मंगलबार खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका उनले आज औपचारिक रुपमा आफ्नो नाम फिर्ता लिने बताएका हुन् । मंगलबार सभापति थापासँग कुराकानी गरेको भिडिओ रिजालले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् ।
‘कसैलाई समर्थन गर्न सक्दिनँ है भनेपछि मेरो मथिङ्गलमा धेरै कुरा खेलिराखेको छ। मलाई जोडिने कुरा ठूला लाग्यो। मलाई आज आकांक्षा ठूलो छैन। आकांक्षा एउटै छः कांग्रेस पार्टी कांग्रेसजस्तै होस्। कांग्रेसको हार्ट र स्वरूप फिर्ता होस्,’ उनले भने, ‘त्यो काममा म तिमीलाई सहयोग गर्छु। तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्नुको कुनै अर्थ छैन। त्यसैले मेरो यो पालि पार्टीको केन्द्रीय समितिमा पद खोज्ने यात्रा टुंगियो ।’