काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतस्थित मेदान्त अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई स्वास्थ्य परीक्षण तथा उपचारमा सहुलियत दिने उद्देश्यले नयाँ दिल्लीस्थित मेदान्त अस्पताल ९द मेडिसिटी०सँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका कार्डवाहक ग्राहकले नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ शाखामा उपचार गराउँदा छुट पाउनेछन् । छुट अस्पतालको ओपीडीअन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवा, आईपीडीअन्तर्गत बेड शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवा र मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ ।
छुट सुविधा लिन ग्राहकले अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ । अस्पतालमा उपलब्ध तोकिएका सेवामा लागू हुने यस सम्झौताबाट बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवामा थप सहुलियत र सहज पहुँच पाउने बैंकले जनाएको छ ।