काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा लोकतान्त्रिक अभ्यासका लागि हरेक क्षेत्रमा खुलामञ्चको आवश्यकता रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपको खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले खुलामञ्च केवल एउटा स्थान मात्र नभई राजनीतिक स्मृतिको साझा अभिलेख र बहसको थलो भएको बताए ।
संसद्मा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको उपस्थितिलाई लिएर सभापति थापाले भने, ‘खुला मञ्च त संसद्मा चाहिएको छ, तर दुर्भाग्य अहिले संसद् खुला छैन, बन्द छ।
जुन दिनसम्म प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ।’ उनले संसद्लाई जीवन्त र खुला बहसको थलो बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेसको इतिहासमा खुला मञ्चले ठुला–ठुला सङ्कल्प पूरा गर्न सिकाएको बताउँदै थापाले १५ औँ महाधिवेशनबाट पनि पार्टीले नयाँ सङ्कल्प पूरा गर्नुपर्ने बताए । उनले भने, ‘यो मतभेदलाई साझा मञ्चमा राख्ने थलो हो। देश र नागरिकका बीचमा संवादको खुला मञ्च चाहिएको छ।’
सभापति थापाले बदलिँदो प्रविधिसँगै सामाजिक सञ्जाललाई गालीगलौजको थलो नभई तथ्य र तर्कपूर्ण बहस गर्ने खुला मञ्चका रूपमा विकास गर्नुपर्ने बताए ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे चर्चा गर्दै उनले भने, ‘पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दा कारबाही हुने होइन, प्रश्नलाई स्वागत गर्ने खुला मञ्च चाहिएको छ।’