धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट जेनजी पुस्ताका युवा आश्विन दुवाडी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
३५ वर्षमुनिका युवातर्फ उम्मेदवारी दिएका दुवाडीले ५ सय ५९ मत प्राप्त गर्दै विजयी भएका हुन्। युवा खुलातर्फ ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
सोही समूहबाट गोपिकृष्ण भण्डारी ८ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन्। भण्डारी जेनजी पुस्ताका भने होइनन्।
पार्टीभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्वमा युवाको पहुँचको बहस चलिरहेका बेला ३५ वर्षमुनिको उमेर समूहबाट दुवाडी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुलाई कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
दुवाडीको निर्वाचितसँगै कांग्रेसको १५औँ महाधिवेशनमा जेनजी पुस्ताको समेत प्रतिनिधित्व हुने भएको छ। उनले महाधिवेशनमा युवा पुस्ताका मुद्दा, पुस्तान्तरण, सुशासन र नेतृत्वमा युवाको सहभागिताका विषयलाई कसरी उठाउँछन् भन्ने चासोको विषय बनेको छ।
धादिङ क्षेत्र नम्बर २ बाट दुवाडीको जितलाई व्यक्तिगत राजनीतिक उपलब्धिसँगै कांग्रेस संगठनमा नयाँ पुस्ताको प्रवेश र प्रतिनिधित्वको महत्वपूर्ण उदाहरणका रूपमा समेत हेरिएको छ।