काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकिङ सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ।
बैंकको वेबसाइटमा उपलब्ध ‘माया’मार्फत ग्राहकले बैंकिङ सेवा तथा सुविधासम्बन्धी जिज्ञासा राख्न सक्नेछन्। बैंकका अनुसार यसबाट नियमित बैंकिङसम्बन्धी जानकारी लिन शाखा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम हुनेछ।
ग्राहकलाई केन्द्रमा राखेर विकास गरिएको ‘माया’ अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म भएको बैंकले जनाएको छ। यसले बैंकका उत्पादन तथा सेवासम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै ग्राहकका जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्न सहयोग गर्नेछ।
बैंकका अनुसार ‘माया’को सुरुवातसँगै प्रविधिको प्रयोगमार्फत ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव प्रदान गर्ने प्रयास गरिएको छ। ग्राहकबाट प्राप्त सुझाव र प्रयोगको अनुभवका आधारमा च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार गर्दै लगिने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले यसअघि पनि एआईमा आधारित ‘माया’ च्याटबोटमार्फत ग्राहकलाई चौबिसै घण्टा डिजिटल सहायता उपलब्ध गराउँदै आएको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।