यती एयरलाइन्सले कमायो ५ अर्ब ४७ करोड, २ अर्ब १० करोडको आइपीओ ल्याउँदै

0 Shares

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ ल्याउने तयारी गरेको यती एयरलाइन्स लिमिटेडले गत वर्ष २०८२-८३ (सन् २०२६) मा ५ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो अघिल्लो वर्ष २०८१-८२ (सन् २०२५) को तुलनामा ९ करोड १० लाख भन्दा धेरै हो । सन् २०२५ मा एयरलाइन्सले ५ अर्ब ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२४ (२०८०-८१) मा ४ अर्ब २५ लाख, सन् २०२३ (२०७९-८०) मा ३ अर्ब ७७ करोड र सन् २०२२ (२०७८-७९) मा ३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०२५ मा निर्धारित उडान, यात्रु संख्या र कुल सञ्चालन आम्दानीमा राम्रो वृद्धि गरेको थियो भने सन् २०२६ मा सञ्चालन गतिविधि स्थिर भएको छ । कम्पनीले प्राप्त गरेको एएमओ प्रमाणपत्रले आफ्नै विमानको मर्मतसम्भारसँगै अन्य वायुसेवा कम्पनीका विमानको मर्मतसम्बन्धी कामबाट समेत अतिरिक्त आम्दानी गर्ने अवसर दिएको छ ।

यस्तै, यात्रु अकुपेन्सी दर २०२५/२६ मा ८२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो दर करिब ७८ प्रतिशत थियो । कम्पनीको वित्तीय संरचनामा भने उल्लेख्य सुधार देखिएको छ । निजी प्लेसमेन्टमार्फत प्रिमियमसहित २ अर्ब २७ करोड रुपैयाँ पुँजी थपिएपछि कम्पनीले उक्त रकम मुख्यतः ऋण घटाउन र केही विमानको इन्जिन ओभरहोलमा प्रयोग गरेको छ ।

यसका कारण कम्पनीको समग्र गियरिङ अनुपात २०२४ मा ४.४५ गुणा रहेकामा सन् २०२५ मा ३.१० गुणा र सन् २०२६ मा १.४९ गुणामा झरेको छ । त्यस्तै, ऋण–पुँजी अनुपात पनि ४.१७ गुणाबाट २.९६ हुँदै १.४७ गुणामा झरेको छ । यतीले निकट अवधिमा करिब २ अर्ब १० करोड रुपैयाँ बराबरको आइपीओबाट पुँजी जुटाउने तयारी गरेको छ । उक्त पुँजी थपिएपछि कम्पनीको गियरिङ अनुपातमा थप सुधार आउने अपेक्षा रेटिङ संस्थाले गरेको छ ।

सञ्चालन नाफामा सुधार र ब्याज लागत घटेका कारण कम्पनीको ब्याज भुक्तानी क्षमता पनि बलियो बनेको छ । ब्याज भुक्तानी अनुपात सन् २०२४ मा १.७१ गुणा रहेकोमा २०२५ मा २.९८ गुणा र २०२६ मा ३.५४ गुणा पुगेको छ । त्यस्तै, डीएससीआर १.८८ गुणामा पुगेको छ ।

कम्पनीले नियामकीय व्यवस्था परिवर्तनपछि आफ्नो सम्पूर्ण अमेरिकी डलरमा रहेको ऋणलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेको छ । यसले विदेशी विनिमय जोखिम उल्लेख्य रुपमा घटाएको भए पनि ऋण रुपान्तरणका क्रममा गत वर्ष करिब ३२ करोड ७० लाख रुपैयाँ एकपटकको विदेशी विनिमय नोक्सानी व्यहोरेको छ ।

अर्कोतर्फ, पश्चिम एसियामा जारी भूराजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) को मूल्य बढ्दा कम्पनीको सञ्चालनमा दबाब परेको छ । इन्धनको बढेको लागतको केही हिस्सा यात्रुमा सार्दै हवाई भाडा बढाइएपछि निर्धारित उडान र यात्रु संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०२६ मा निर्धारित उडान करिब ६ प्रतिशत र यात्रु संख्या करिब ९ प्रतिशतले घटेको छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी २०२५ मा २६ प्रतिशतले बढेकोमा २०२६ मा वृद्धि दर २ प्रतिशतमा सीमित भएको छ । सन् २०२५ मा करिब ३३ प्रतिशत रहेको इबिआइटी मार्जिन २०२६ मा करिब ३० प्रतिशतमा झरेको छ । त्यस्तै, खुद नाफा मार्जिन १२ प्रतिशतबाट करिब ३ प्रतिशतमा झरेको छ ।

कम्पनीको खुद नाफा आर्थिक वर्ष २०२५ मा ६४ करोड ८० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२६ मा १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । विदेशी मुद्रा ऋणलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा भएको ३२ करोड ७० लाख रुपैयाँको विदेशी विनिमय नोक्सानीले पनि नाफामा असर गरेको छ । उक्त नोक्सानी एकपटकको भएकाले आगामी वर्षमा विदेशी विनिमयसम्बन्धी नोक्सानी घट्ने अपेक्षा गरिएको छ ।

यती एयरलाइन्सको सञ्चालन भने वर्किङ क्यापिटलमा बढी निर्भर रहेको देखिएको छ । सन् २०२६ मा कम्पनीको सञ्चालन चक्र करिब ९८ दिन पुगेको छ । अघिल्लो वर्ष यस्तो अवधि ८४ दिन थियो । विमानका स्पेयर पार्ट्स तथा आवश्यक सामग्रीको मौज्दात बढाउँदा इन्भेन्ट्री दिन ८४ बाट बढेर ९८ दिन पुगेको हो । यसले कम्पनीको वर्किङ क्यापिटलको आवश्यकता बढाएको छ ।

कम्पनीको आम्दानी र यात्रुमा केही प्रमुख रुटको निर्भरता पनि उच्च छ । २०२६ मा काठमाडौं–पोखरा र काठमाडौं–विराटनगर दुवैतर्फका रुटले कम्पनीको कुल आम्दानीको करिब ५१ प्रतिशत र यात्रुको करिब ५२ प्रतिशत हिस्सा ओगटेका छन् । डलरमा हुने आम्दानीको करिब ९० प्रतिशत पनि दुईवटा रुटबाट आउने गरेको छ ।

यस्तै, कम्पनीको सञ्चालन लागतमा एटीएफको हिस्सा २०२५ र २०२६ दुवैमा करिब ३२ प्रतिशत रहेको छ । इन्धन मूल्यमा हुने उतारचढाव, तीव्र प्रतिस्पर्धा र हवाई भाडामा नियामकीय सीमाका कारण बढेको इन्धन लागत पूर्ण रुपमा यात्रुमा सार्न कम्पनीलाई कठिन रहेको जनाइएको छ ।

कम्पनीसँग हाल ७ वटा एटीआर ७२ विमान छन् । तीमध्ये ६ वटा खरिद गरिएका र एउटा लिजमा लिइएको हो । आगामी दिनमा थपिएका विमानको प्रभावकारी उपयोग, यात्रु अकुपेन्सी कायम राख्ने क्षमता, सञ्चालन मार्जिन र नाफा सुधार गर्न सक्ने क्षमता कम्पनीको रेटिङका लागि महत्वपूर्ण हुनेछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले यती एयरलाइन्स लिमिटेडको बैंक कर्जा तथा इस्युअर रेटिङ यथावत् राखेको छ । इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन बैंक कर्जातर्फ ६ अर्ब ३८ करोड ९१ लाख रुपैयाँलाई ‘आईआरएन बीबीबी माइनस’, अल्पकालीन बैंक कर्जातर्फ १ अर्ब ४ करोड ६५ लाख रुपैयाँलाई ‘आईआरएन ए३’ र दीर्घकालीन/अल्पकालीनतर्फ ५५ करोड १९ लाख रुपैयाँलाई ‘आईआरएन बीबीबी माइनस /ए३’ रेटिङ पुनः पुष्टि गरेको हो ।

यो रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इन्फोमेरिक्सका अनुसार सन् २००२ देखि सञ्चालनमा रहेको यती एयरलाइन्सले घरेलु हवाई सेवामा आफ्नो बजार हिस्सा स्थिर राखेको छ । आर्थिक वर्ष २०२५/२६ मा यात्रु संख्याका आधारमा कम्पनीको बजार हिस्सा करिब २२ देखि २३ प्रतिशत रहेको छ ।

यससँगै विभिन्न विमानस्थलमा बिक्री कार्यालय तथा हब र अनलाइन टिकट बुकिङको सुविधाले कम्पनीको बजार पहुँच बलियो बनाएको रेटिङ संस्थाले जनाएको छ । कम्पनीको प्रवर्द्धक समूह यती ग्रुपको लामो अनुभव तथा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थागत लगानीलाई पनि रेटिङको सकारात्मक पक्षका रुपमा लिइएको छ ।

सम्बन्धित समाचार