काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको भण्डार पुनःपूर्ति गर्न एसएम ६ क्षेप्यास्त्रको उत्पादन बढाउन रेथियोनलाई २४ अर्ब ४० करोड अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ ।
पाँच वर्षका लागि हुने सम्झौतामा थप दुई वर्षका विकल्पसमेत छन् । पेन्टागनले एसएम ६ लाई हवाई प्रतिरक्षा तथा सतहविरुद्ध प्रयोग हुने महत्त्वपूर्ण क्षेप्यास्त्रका रूपमा उल्लेख गर्दै सम्झौताले रक्षा उद्योगलाई जनशक्ति र आपूर्ति शृङ्खला विस्तार गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाएको छ ।
अमेरिकी रक्षा विभागका महानिरीक्षकले गत महिना इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ मा भएको हतियार खर्चले रणनीतिक भण्डारमा कमी ल्याएको तथा हतियार पुनःपूर्तिमा औद्योगिक क्षमतासम्बन्धी समस्या देखिएको बताएका थिए । कङ्ग्रेसनल बजेट कार्यालयले पनि सेप्टेम्बर १५ को प्रतिवेदनमा अमेरिकासँग धेरै वर्षसम्म इन्टरसेप्टर क्षेप्यास्त्रको सीमित भण्डार रहने उल्लेख गरेको थियो ।
रेथियोनले एसएम ६ अमेरिकी नौसेनाका पानीजहाज तथा स्थलबाट प्रक्षेपण गर्ने प्रणालीबाट सफलतापूर्वक प्रयोग गरिएको जनाएको छ । कम्पनीका अध्यक्ष फिल जास्परले उत्पादन क्षमता बढाउन आफ्ना सञ्चालन तथा उत्पादन केन्द्रमा निरन्तर लगानी भइरहेको बताए ।
यसैबीच, अमेरिका र इजरायलको इरानमाथिको आक्रमण सुरु भएको सात महिनाभन्दा बढी समयपछि पनि तेहरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राखेको बताइएको छ । ‘वाल स्ट्रिट जर्नल’ का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको अन्त्यसम्म इरानमाथि पुनः बमबारी गर्ने अपेक्षा सहयोगीहरूलाई बताएका छन् ।