काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग बुधबार छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठेका विषय, बाढीपहिरोको अवस्था तथा विकास निर्माणका विषयमा कुराकानी भएको हो।
छलफलमा १७ जना सांसद सहभागी थिए। नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका थिए।
छलफलका क्रममा सांसदहरूले बाढीपहिरोपछि उत्पन्न अवस्थाबारे धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा सांसदहरूले उठाउने विषय र त्यसको प्रभावबारे आफ्नो धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूबाट औद्योगिकीकरण र देश विकासका लागि नयाँ सोच तथा रचनात्मक सुझाव अपेक्षा गरेको बताए। उनले संसद्मा उठेका विषय सरकार र प्रधानमन्त्री कार्यालयले सुनिरहेको भन्दै विकाससम्बन्धी कुनै नयाँ विचार भए प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमा राख्न सकिने बताए।
रास्वपाका सांसद डा. राम लामाले प्रधानमन्त्रीसँग इन्जिनियरिङ पृष्ठभूमिका सांसदको अनुभव र सुझावबारे छलफल भएको बताए।