थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

0 Shares

मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ ।

नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रुपमा बगे पनि हालसम्म ताल रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन, नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ ।’

हाल त्यस क्षेत्रमा विज्ञहरुको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी तालको बहवलाई सञ्चालन गर्न कोसिस भइरहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

‘नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ,’ अध्यक्ष घलेले भने, ‘आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।’ उनका अनुसार पुलमाथिबाट नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन् ।

लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण त्यसमा विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध छ ।

सम्बन्धित समाचार