पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

0 Shares

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका २ चालिसे र गजुरी गाउँपालिका ५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रुपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।

प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रुपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रुपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए ।

‘कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ,’ प्रवक्ता सुवेदीले भने ।

पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी, वर्षाका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिलोक पथअन्तर्गत ठिङ्गन तथा फर्पिङ-फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो ।

बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

उता काठमाडौंको दक्षिणकाली-सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली-सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएपछि यात्रु भने समस्यामा परेका छन् । विशेषगरी पृथ्वीराजमार्ग र बिपी राजमार्गमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले दिएको सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार