काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितलाई सरसफाई तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संशाधन विभागकी रुवि श्रेष्ठले बैंकको तर्फबाट प्रभावितलाई हस्तान्तरण गरेका हुन् ।
प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सरसफाई सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो ।
विपद्को अवस्थामा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामाग्रीको आवश्यकता समेत महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकहरूको दैनिक जीवनलाई सहज हुने अभिप्रायका साथ उक्त सहयोग प्रदान गरिएको छ ।
यसअघि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख गरी कुल २५ लाख सहयोग गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले गरेको छ ।
बैंकले विपद् प्रभावित समुदायप्रति संस्थागत सहयोगसँगै कर्मचारी स्तरबाट समेत देखाइएको मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप सुदृढ बनाएकोे छ ।
कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।