काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीमा परि घाइते भएका मध्ये सात जना बिरामीहरू अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तिन, राष्ट्रिय ट्रमा सेन्टरमा तिन र वीरेन्द्र अस्पताल छाउनीमा १ जना उपचाररत छन् । हालसम्म तिन सय एक जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।
बाट प्रभावित क्षेत्रहरूमा स्वास्थ्य मन्त्रालयले उपचार, रोग निगरानी र प्रतिकार्यका कार्यक्रमहरूलाई थप तीव्र बनाएको जनाएको छ । बाढी प्रभावित नुवाकोट र रसुवा जिल्लामा हैजा फैलाउन नदिनका लागि ओरल कोलेरा भ्याक्सिन खोप अभियान निरन्तर सञ्चालन भइरहेको छ। असोज ७ सम्मको तथ्याङ्क अनुसार नुवाकोटमा ६७ प्रतिशत र रसुवामा ५३ प्रतिशत खोप कभरेज पुगेको छ ।
साथै, होल्डिङ सेन्टर तथा सेल्टरहरूमा फैलन सक्ने सम्भावित रोगहरूको निगरानीका लागि ‘सोर्मास’ प्रणालीमार्फत दैनिक अनुगमन भइरहेको छ । पछिल्लो २४ घण्टामा पाँच वटा इन्फ्लुएन्जा जस्तो बिरामी, एक वटा एक्युट ग्यास्ट्रोएन्टेराइटिस र तिन वटा ज्वरोका केसहरू रिपोर्ट भएका छन् । जसको स्थानीय तहबाटै उचित व्यवस्थापन भइरहेको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउन ३४ वटा टोलीका १४९ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। जसमध्ये ६ वटा टोली हाल सक्रिय रूपमा नुवाकोट र रसुवाका विभिन्न स्थानहरू चौतारा, नुवाकोट आयुर्वेद अस्पताल, सेतीदेवी र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालय, कालिकास्थान र टिमुरेमा खटिएका छन् । शारीरिक उपचारका साथै मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै १३ हजार सात सय तिन जनालाई मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराइएको छ ।
बाढी प्रभावित क्षेत्रहरू नुवाकोट, काठमाडौँ, रसुवा र धादिङका २१ वटा होल्डिङ सेन्टरहरूमा हाल एक हजार दुई सय ८२ जना मानिसहरू (६१२ पुरुष र ६७० महिला) आश्रय लिइरहेका छन् । ती होल्डिङ सेन्टरहरूमा रहेका आश्रितमध्ये २४० जना विशेष जोखिममा रहेका (गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू) रहेका छन् ।
पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टरमा रहेका १८७ जनाले स्वास्थ्य सेवा र ३६६ जनाले मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका छन् । मन्त्रालयले सबै निकायहरूलाई सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्क रहन र आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको निरन्तर उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ ।