रसुवागढी र तातोपानी बन्द भएपछि कोरलानाकामा बढ्यो चहलपहल, २० दिनमै साढे २ अर्ब राजस्व

0 Shares

मुस्ताङ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवागढी–केरुङ नाका बन्द हुँदा चीनबाट हुने आयातको मार्ग परिवर्तन भएसँगै मुस्ताङको कोरलानाकाबाट भन्सार राजस्व सङ्कलन ह्वात्तै बढेको छ। मुस्ताङ भन्सार कार्यालयले भदौ १० गतेपछि २० दिनमै २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो।

रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने अधिकांश मालवस्तु र विद्युतीय सवारीसाधन कोरलानाकातर्फ मोडिएका छन्। यही कारण नियमित रूपमा सीमित कारोबार हुँदै आएको कोरलानाका छोटो समयमै चीनबाट हुने आयातको महत्वपूर्ण वैकल्पिक नाका बनेको छ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० गतेपछि २० दिनको अवधिमा कोरलानाकाबाट आएका ५६४ कन्टेनर र १ हजार ९० विद्युतीय सवारीसाधनको जाँचपास भएको छ। यी मालवस्तु तथा सवारीसाधनबाट २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुडालले बताए।

रसुवागढी नाका पूर्ण रूपमा बन्द हुनुअघि कोरलानाकाबाट हुने आयात निकै न्यून थियो। चालु आर्थिक वर्षको साउनदेखि भदौ ९ गतेसम्म ४० दिनमा मुस्ताङ भन्सारले जम्मा ५३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। उक्त अवधिमा कोरलानाकाबाट १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवस्तु बोकेका कन्टेनरको मात्र जाँचपास भएको थियो।

तर भोटेकोशी बाढीपछि आयातको मार्ग परिवर्तन हुँदा भन्सार राजस्वमा ठूलो वृद्धि देखिएको हो। चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा मुस्ताङ भन्सार कार्यालयले कुल ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यसमा साउनमा २६ करोड ३९ लाख रुपैयाँ र भदौमा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। अर्थात् दुई महिनामै सङ्कलन भएको कुल राजस्वमध्ये अधिकांश भदौ महिनामा उठेको हो।

मुस्ताङ भन्सारका अनुसार साउन महिनामा कोरलानाकाबाट १०० वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। ती सवारीसाधनबाट मात्रै १७ करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

भदौमा भने विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढ्यो। एक महिनामा १ हजार २५३ वटा विद्युतीय सवारीसाधन कोरलानाका हुँदै नेपाल भित्रिएका थिए। ती सवारीसाधनबाट १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

मालवस्तु बोकेका कन्टेनरको संख्या पनि बढेको छ। साउनमा ५७ वटा कन्टेनर कोरलानाकाबाट नेपाल भित्रिएका थिए भने भदौमा ६९७ वटा कन्टेनरको जाँचपास भएको थियो।

दुई ठूला नाका बन्द हुँदा कोरला विकल्प

रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरलानाका महत्वपूर्ण वैकल्पिक मार्ग बनेको हो। नेपाल–चीन व्यापारका प्रमुख नाका रसुवागढी र तातोपानी दुवै बन्द अवस्थामा रहेका बेला कोरलानाकाबाट आयात बढेको हो।

यसअघि कोरलानाकाबाट हुने कारोबार तुलनात्मक रूपमा सीमित थियो। तर रुट परिवर्तनसँगै छोटो अवधिमै ठूलो संख्यामा कन्टेनर र विद्युतीय सवारीसाधन आउन थालेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को १२ महिनामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यस वर्ष कोरलानाका हुँदै ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए।

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै कोरलानाकाबाट भएको कारोबारले गत वर्षको वार्षिक राजस्वको ठूलो हिस्सा छोटो अवधिमै सङ्कलन हुने अवस्था देखाएको छ। तर रसुवागढी नाका खुलेपछि आयातको ठूलो हिस्सा पुनः पुरानै मार्गमा फर्कने वा कोरलानाकाबाट भएको कारोबार कति टिक्छ भन्ने विषय भने आगामी व्यापारिक अवस्थाले निर्धारण गर्नेछ।

सम्बन्धित समाचार