काठमाडौं । नजिकिँदै गरेको दशैँ, तिहार, छठसहितको चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीसँगै अन्यौलमा रहेको अवस्थामा यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा टिकट बुकिङबारे जनाएको हो ।
अग्रिम टिकट बुकिङ कहिलेबाट खुल्ने भन्ने खुलेको छैन । विभागका अनुसार सार्वजनिक यातायात व्यवसायीले टिकट अनलाइन बुकिङको व्यवस्था मिलाउनुपर्ने र यात्रुको परिचय खुल्ने विवरण चलानीमा राख्नुपर्ने जनाएको छ ।
विभागले यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने जनाएको छ । अनधिकृत काउन्टर, परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनी लगायत सम्बन्धित संस्थासँग समन्वय गर्ने उल्लेख छ ।