प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

0 Shares

काठमाडौ‌ । प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए ।

उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानान्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।

प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिएका थिए । ‘हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन, यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग भने, ‘त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रुपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाविरुद्ध रहेको बताएका थिए । उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने, ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु, म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु ।’

सम्बन्धित समाचार