त्रिपुरेश्वर बस आगलागीका मृतक चालक अर्जुन दोङ, को हुन् यसअघि नाम आएका दावा?

0 Shares

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ रहेका छन् ।

मृतक चालक तामाङ विसं २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही घटनापश्चात् फरार रहेको बुझिएको छ । मृतक तामाङले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताए ।

तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वर घटनामा पनि दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको परिसरले जनाएको छ ।

अनुसन्धानका क्रममा मृतक चाकलले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतक चालकले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।

सम्बन्धित समाचार