काठमाडौँ । नेपाल ट्रक व्यवसायी महासंघले दसैंका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन मालवाहक सवारीसाधन सञ्चालनमा आवश्यक व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। सडकको अवस्था र यात्रुवाहक सवारीसाधनको चापलाई ध्यान दिएर ठूला मालवाहक सवारी सञ्चालन गर्नुपर्ने महासंघको धारणा छ।
मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष राजेन्द्रविक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंले दसैंका बेला अत्यावश्यक वस्तुको ढुवानी भने नरोक्नुपर्ने बताएका हुन्।
महासंघका अध्यक्ष बाँनियाले सडक विभागले विभिन्न सडकको अवस्थाबारे जानकारी गराएकाले त्यसका आधारमा मालवाहक सवारी सञ्चालनको व्यवस्था गर्नुपर्ने बताए। सडकको अवस्था कमजोर रहेका स्थानमा ठूला मालवाहक सवारीलाई रोक्ने वा व्यवस्थापन गर्ने तर अत्यावश्यक सामग्री बोकेका सवारीलाई प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने उनको सुझाव छ।
‘सडक विभागले कुन सडक कस्तो अवस्थामा छ भन्ने जानकारी गराएको छ। त्यसका आधारमा ठूला मालवाहक सवारी नल्याउने, तर अत्यावश्यक सामान लिएर आउने सवारीलाई सञ्चालन गर्न दिने विषयमा छलफल भयो,’ बाँनियाले भने।
दसैंका बेला यात्रुवाहक सवारीसाधनको चाप सामान्य समयभन्दा बढी हुने भएकाले मालवाहक सवारी सञ्चालन गर्दा यात्रुको आवतजावतलाई पनि ध्यान दिनुपर्ने उनले बताए। यात्रुवाहक सवारीको चाप बढी हुने सडकमा समयअनुसार मालवाहक सवारी सञ्चालन गर्ने र आपूर्ति प्रणालीमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने महासंघको भनाइ छ।
‘अत्यावश्यक सामानको ढुवानी रोक्नु हुँदैन। यात्रुवाहक सवारी बढी चल्ने भएकाले त्यसलाई ध्यानमा राखेर मालवाहक सवारी सञ्चालन गर्ने विषयमा सुझाव दिएका छौँ,’ बाँनियाले भने।
महासंघले सडक विभागसँग थप समन्वय गरेर दसैंका लागि मालवाहक सवारी सञ्चालनको विस्तृत व्यवस्थापन गर्नुपर्ने सुझावसमेत दिएको छ। सडकको अवस्था, यात्रुवाहक सवारीको चाप र अत्यावश्यक वस्तुको आपूर्तिलाई आधार बनाएर कुन सडकमा कस्तो व्यवस्था गर्ने भन्ने टुंगो लगाउनुपर्ने महासंघको धारणा छ।
दसैंअघि नै सडकको अवस्थाको मूल्यांकन गरी मालवाहक सवारी सञ्चालनसम्बन्धी स्पष्ट व्यवस्था गर्न सके यात्रुको आवतजावत र बजारमा अत्यावश्यक वस्तुको आपूर्ति दुवै सहज बनाउन सकिने महासंघले जनाएको छ।