देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने

0 Shares

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । सबै प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ ।

देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी र तराई भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार