पीआरभी इन्टरटेनमेन्टको आयोजनामा सांगीतिक कोष संकलन कार्यक्रम सम्पन्न, भोटेकोशी बाढीपीडितका लागि ४ लाखभन्दा बढी रकम सहयोग

0 Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ पीआरभी इन्टरटेनमेन्टको आयोजनामा सांगीतिक कोष संकलन कार्यक्रम सम्पन्न भएको छ। त्रिसरा रेस्टुरेन्टमा एक्सिस ब्यान्डको सहकार्यमा आयोजित कार्यक्रममा संगीतसँगै मानवीय सहयोग जुटाइएको हो।

गत अगस्ट २६ अर्थात् भदौ १० गते रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको थियो। बाढीबाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत र सहयोग आवश्यक रहेको भन्दै उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमबाट टिकट बिक्री तथा विभिन्न संघसंस्था र व्यवसायीबाट प्राप्त सहयोगसहित कुल ४ लाख ९ हजार ६ सय ३७ रुपैयाँ संकलन भएको छ। संकलित सम्पूर्ण रकम भोटेकोशी राहत कोषमा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। उक्त रकम बाढी प्रभावित परिवार तथा समुदायको राहतका लागि प्रयोग गरिनेछ।

कार्यक्रमलाई हिमालयन प्रोडक्सन्स, रोटेपिङ इन्टरटेनमेन्ट, वावाज, लिक्वी मोली, पौडेल इन्टरप्राइजेज, रोटरी क्लब अफ भिजन काठमाडौं, फोनपोइन्ट्स, डोको टुर्स, समरा ट्रेडर्स इन्टरप्राइजेज, लाइभ सोलुसन, इसेवा, लेजेन्डरी मोटर्स हब तथा एनिग्राफी स्टुडियो–फोटोग्राफी एन्ड भिडियोग्राफी लगायतका संस्था तथा व्यवसायले सहयोग गरेका थिए।

एक्सिस ब्यान्डको ऊर्जावान सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र प्रभावकारी बनाएको थियो। संगीतलाई मानवीय सहयोगसँग जोड्दै आयोजना गरिएको कार्यक्रमले विपद्मा परेका नागरिकप्रति सामूहिक ऐक्यबद्धता प्रदर्शन गरेको आयोजकको भनाइ छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था, व्यवसायी, अतिथि, टिकट खरिदकर्ता, कलाकार, स्वयंसेवक, फोटोग्राफर तथा भिडियोग्राफरलगायत सम्पूर्णलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

आयोजकले विपद् तथा मानवीय संकटमा परेका व्यक्ति र समुदायलाई निरन्तर सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा पनि सामूहिक पहल र सहयोगलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार